https://merorachana.com/uploads/post/1675493469.png

विषको घडा

भोग्नेहरूले त भन्दै थिए

ऊ आउँदै छ

ऊ आउँदा सहज रूपमा आउँदैन

उथलपुथल आउँदै आउँछ

पृथ्वी हल्लाएर आउँछ

सहरहरू ढालेर आउँछ

अस्पतालहरू भरिभराऊ पारेर आउँछ

घरहरू रित्तो पारेर आउँछ

हामीले त्यसलाई पत्याउनै सकेनौँ

दिन, हप्ता, महिना गन्दागन्दै

ऊ आउँदै रह्यो

हामीले बेवास्ता गरिनै रह्यौं

जब ऊ आफ्नै सहरहरूमा आइपुग्यो

जब ऊ आफ्नै बस्तीहरूमा आइपुग्यो

जब ऊ आफ्नै घरहरूमा आइपुग्यो

अनि मात्रै थाहा भयो

हामीलाई-

उसको भीमकाय रूपको

उसको नरभक्षी स्वभावको

बल्ल हामीले बुझ्दैछौँ

ऊ कतिसम्म हिंस्रक छ भन्ने कुरा

हिंस्रकमा ऊ चितुवाभन्दा कम छैन

बल्ल हामीले चाल पाउँदै छौ

उसले कतिसम्म ठुङ्न सक्छ भन्ने कुरा

विष उगेल्नमा ऊ गोमनभन्दा कम छैन

हे प्रलयका देवता !

पृथ्वी मन्थनबाट निस्केको यो कालकुट विष निल्न सक्ने

अरू कोही भएन गर एकबार फेरि धर्तीमा अवतरण !

र घटघट निली देऊ यो विषको घडा

तिम्रा सन्तानका निम्ति !

#शिवलाल दाहाल ( जो स्मृतिमा मात्र बाँचिदिएका छन् बाट)

Leave a Comment
No Comment