https://merorachana.com/uploads/post/1676381244.jpg

म तिमीलाई प्रेम गर्छु भनिरहेको थिएँ

म तिमीलाई प्रेम गर्छु भनिरहेको थिएँ ।

हरेक दिन हरेक

रात तिम्रो प्रतीक्षा गरिरहेको थिएँ

हरेक पल हरेक

क्षण तिम्रो प्रतीक्षा गरिरहेको थिएँ ।

तिमी रातहरुमा नआएपछि

मैले रातहरुलाई प्रेम गर्न थालेँ

तिमी दिनहरुमा नआएपछि

मैले दिनहरुलाई प्रेम गर्न थालें ।

तिमी कुनैपनि पल / कुनैपनि क्षण नआएपछि

मैले हरेक क्षण / हरेक पलहरुलाई प्रेम गर्न थालेँ !

म तिमीलाई प्रेम गर्छु भनिरहेको थिएँ -

तिमीलाई फूलहरु उपहार दिन्छु भनेर सोचिरहेको थिएँ !

तिमीलाई सम्झेर म रोइरहेको थिएँ'

शीत बनेर खसिरहेको थिएँ

आँसु बनेर जमिरहेको थिएँ ।

जून / तारा र / आकाश

घाम / नदी र / बतास

बाटो / सपना र / यात्रा

मैले तिमीलाई जताततै खोजिरहेको थिएँ ।

मैले तिमीमा आफूलाई खोजिरहेको बेला

मैले तिमीभित्र प्रेम खोजिरहेको बेला

आँखामा जीवनको प्राप्ति र सौन्दर्य साँचेर

उजाड खण्डहरमा फूलहरु फुलिरहेको देखें

ढुंगाको कठोर छातीमा फूलहरु हाँसिरहेको देखें ।

मैले पहिलोपटक थाहा पाएँ

फूलहरु प्रेमका लागि होइनन्

स्वयं प्रेम हुन् ।

म तिमीलाई प्रेम गर्छु भनिरहेको थिएँ

तिमीलाई फूलहरु उपहार दिन्छु भनेर सोचिरहेको थिएँ

तर / म त आजभोलि

फूलहरुको पुजारी भएको छु

फूलहरुको माली भएको छु ।

म तिमीलाई प्रेम गर्छु भनिरहेको थिएँ

तर / आजभोलि

फूलहरुलाई प्रेम गर्न थालेको छु !

प्रेमको अवसानमा

प्रेमकै समाधिमाथि प्रेमपूर्वक फूलिरहने

फूलहरुलाई प्रेम गर्न थालेको छु!

- कवि मौन आवाज

Leave a Comment
No Comment